चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा बाह्रबिसे नगरपालिकालाई सहयोग



सिन्धुपाल्चोक, असार ३१ । चौतारा साँगाचोकगढी नगरपालिकाले बाढीपहिरोपीडितका लागि निर्णय गरेको रकमको चेक बुधबार हस्तान्तरण गरेको छ ।

भोटेकोसी गाउँपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई ३ लाख गरी ५ लाख रुपैयाँको सहयोग रकमको छुट्टाछुट्टै चेक बुधबार भेटघाट कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा असार २३ गते गएको पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको थियो । २ जनाको शव भेटिइसकेको छ भने झन्डै दुई दर्जन व्यक्ति हराइरहेका छन् । उनका परिवारलाई राहतका लागि भन्दै साँगाचोकगढी नगरले यही २७ गते दुई पालिकालाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाले पनि बाह्रबिसे नगरपालिकालाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा अनुशासन विभाग प्रमुख अमृतकुमार बोहरा, वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य माधव सापकोटा, प्रदेश कमिटी सल्लाहकार तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङ, प्रदेश कमिटी सदस्य सुवास कर्माचार्य, झम्क पराजुली, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपाल, नेकपा प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष झम्क नेपाल लगायतको उपस्थिति थियो । त्यसअवसरमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो ।

स्थलगत अनुगमनका क्रममा उनीहरुले प्रभावितहरुलाई यथाशक्य सहयोग उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचना छिटोभन्दा छिटो निर्माण गराउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्