पछिल्ला तीन महिनामा चीनमा ३.२ प्रतिशतले आर्थिक वृद्धि



बेइजिङ, १ साउन। कोरोना भाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।

कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण गर्न सफल भएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरुले बताएका छन् ।
चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ ।

चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोले बिहीबार सार्वजनिक गरेको विवरणमा गत अप्रिल–जुन महिनाको अवधिमा कूल गार्हस्थ्य उत्पादन ३.२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । पहिलो चौमासिक अवधिमा चीनको अर्थतन्त्रमा करिब ६.८ प्रतिशतको व्यापक गिरावट आएको थियो ।

तर अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्नेछ । चिनियाँ खुद्रा बिक्रीमा भने पूर्वानुमानको तुलनामा केही घटेको छ । अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १.८ प्रतिशतले कमी आएको छ ।

यसको अर्थ चीनमा कोरोनाभाइरस नियन्त्रणमा आएको देखिए पनि मानिसहरु बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन् ।

ब्यूरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली शेयर बजारमा खुशी ल्याउन भने सकेन । शाङ्घाई र हङकङको शेयर बजार बिहीबार मध्याह्नसम्ममा झण्डै १ प्रतिशतले घटेको छ ।

एक्सीकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरु बजारमा गएर सामान किन्छन् भन्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्