विज्ञ र सरोकारवालाहरु भन्छन्- मौद्रिक नीति राम्रो आयो, अब यसको कार्यान्वयनमा ध्यान दिनुपर्छ



काठमाडौं, ४ साउन । पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
शनिबार भएको विशेष साक्षात्कारमा बोल्दै पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको सुनाए । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको टिप्पणी छ । उनले गभर्नर महाप्रसाद अधिकारी आफैं राष्ट्र बैंकमा लामो समय काम गरेर खारिएको व्यक्ति भएकोले पनि मौद्रिक नीति राम्रो ल्याउन सफल भएको प्रतिक्रिया दिए । उनले भने,‘जुन स्पिरिटमा यो मौद्रिक नीति ल्याईएको छ, यही स्पिरिटका साथ यसको कार्यान्वयन हुनुपर्छ । होईन भने जति राम्रो ल्याएपनि कार्यान्वयन नभए यसको अर्थ हुँदैन् । मौद्रिक नीतिमा खोट छैन् । अब यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले तत्काल एउटा टास्क–फोर्स गठन गर्नुपर्छ । र, यहीमार्फत मनिटरिङ गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले राम्रो फिल भएको स्पष्ट पारेका छन् । उनले भने,‘मौद्रिक नीतिले राम्रो प्रभाव दिने हामीले फिल गरेका छौं ।’ उनले मौद्रिक नीतिमार्फत बैकिंङ सेवा शुल्क घटाईएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे । उनले मौद्रिक नीति समयसापेक्ष ल्याएकोमा गभर्नर अधिकारीलाई धन्यवाद दिनैपर्ने पनि बताए । यद्धपी उनले मौद्रिक नीति असारमै ल्याएको भए अझै धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे । उनले मौद्रिक नीतिमा उद्योग वाणिज्य महासंघले अघि सारेका सुझावहरुसमेत परेको प्रतिक्रिया दिए । उनले नीति राम्रो आएकोले यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै स्वागत गरे ।

उनले बैंक नबाँचे व्यवसाय पनि नबाँच्ने बताए । उनले भने,‘लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या छ । ब्याज सिंगल डिजिटमा ल्याउनुपर्छ भनेर हामीले पनि भनेका छौं । तर, म उद्योग वाणिज्य महासंघ र चेम्बरका साथीहरुलाई स्प्रेडदर घटाईदिनुहोस भनेर बोलेको कुरा अलिकति नमिल्दोजस्तो आभाष भएको छ । किनभने बैंक बाँचेन भने व्यवसायपनि बाँच्दैन् । र, व्यवसाय बाँचेन भने बैंकपनि बाँच्दैन् ।’
गोल्यानले समग्र रुपमा नीति राम्रै आएको भएपनि यसबारे आफूहरुले विस्तृतमा अध्ययन नगरिसकेको प्रतिक्रिया दिए ।

पूरा कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने कुरा उल्लेख भएकोमा यो राम्रो भएको उनको प्रतिक्रिया छ । उनले भने,‘बास्तवमै कृषिमा लगानी हामीले पनि गर्नुपर्छ । र, राष्ट्र बैंकले पनि गर्नुपर्छ । यसमा ध्यान दिनुपर्छ । अहिले ५५ अर्ब रुपैयाँ लगानी भैसकेको छ भन्ने डेटा आएको छ । यो कृषिमै लगानी भएको हो भने त धेरै खुशीको कुरा हो । अर्को कुरो एक करोडभन्दा कमको कर्जा १५ प्रतिशत हामीले दुई वर्षभित्रमा पुर्याउनुपर्छ । त्यो पनि धेरै ठूलो राहत हो । यसको मतलव जसले काम गर्न खोज्छ, अब पुँजीको अभावले काम रोकिँदैन् ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिए । अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्