खेलकुदलाई प्राथमिकतामा राख्‍न कर्मचारी संघको आग्रह



काठमाडौं ४ साउन । खेलकुदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको छ । राज्यका लागि खेलकुदको आवश्यकता र महत्व क्रमिकरुपमा बढ्दै गएकाले तीनवटै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने सङ्घको माग छ ।

गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले कूल २०६ पदकसहित उल्लेख्य उपलब्धि हासिल गरेको तथा खेलाडी र प्रशिक्षकलाई सङ्घीय, प्रदेश र स्थानीय तहले नगद पुरस्कारसहित सम्मान गरेकामा तीनवटै सरकारप्रति कर्मचारी सङ्घले आभार प्रकट गरेको छ । कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापाले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश नं १ ले खेलाडीलाई सम्मान गरे पनि प्रशिक्षकलाई नगरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

प्रशिक्षकको भूमिकालाई प्रदेश नं १ ले बेवास्ता गरेको पाइएकाले उनीहरुलाई पनि सम्मान गरिदिन उनले प्रदेश सरकारसित आग्रह गरेका छन् । खेलाडीलाई सक्षम र प्रतिभावान बनाउने प्रशिक्षकलाई सङ्घीय सरकारले यसअघि नै नगदसहित पुरस्कृत गरिसकेका अवस्थामा प्रदेश सरकारले पनि प्रशिक्षकको मनोबल उच्च पार्न उनीहरुलाई सम्मान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न स्थानीय तहको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको कर्मचारी सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्