सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९४ हजार पुग्यो, कारोबार शून्य



काठमाडौं साउन ७ । नेपाली बजारमा बुधबार एकै दिन सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० रुपैयाँ पुगेको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्