वाग्मती प्रदेशले गर्‍यो एकैपटक ३२ वटा पुलको उद्घाटन



काठमाडौ,साउन ८ । वाग्मती प्रदेश सरकरले दुईवर्ष निर्माण गरेको ३२ वटा पुलको बुधबार उद्घाटन गरेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा भएको एक कार्यक्रमबीच मुख्यमन्त्री डोरमणि पौडेलले पुलको सामुहिक उद्घाटन गरेका हुन् । प्रदेश सरकारको काम नभएको र खारेज हुनुपर्ने चर्चा बेला मौकामा चलिरहँदा बागमती प्रदेश सरकारले भने छोटो अवधिमै त्यस्ता चर्चालाई खारेज गरिदिने गरी एकैदिन ३२ वटा पुल उद्घाटन गरेको हो ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कामलाई आफुहरुले निरन्तर अघि बढाईराखेको बताउदै अब प्रदेशले गरेको कामको नतिजाहरु बिस्तारै देखिन थालेको समेत बताए । प्रदेश सरकारले के गर्न सक्यो र भन्नेहरुको लागि यति छोटो समयमा पनि यति धेरै योजना निर्माण गर्न सकिनेरैछ भनेर प्रदेशले देखाएको उनको तर्क थियो। कतिपय मिडियाले प्रदेश सरकारको भ्रमपुर्ण समाचार प्रकाशित गरेको बताउदै मिडियाले पनि प्रदेशको गतिविधिलाई स्वस्थ ढंगबाट सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले चालु आर्थिकवर्ष भित्र १ सय वटा पुल निर्माण सम्पन्न गरिसक्ने दाबी समेत गरे । उनले प्रदेश सरकारले गत दुई आर्थिक वर्ष भित्रमा ३२ वटा पुल सहित एक हजार तीनसय किलोमिटर सडक निर्माण सम्पन्न गरेको जानकारी दिए ।

प्रदेश सरकारले निर्माण गरेको पुलमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा रहेको छ।सिन्धुपाल्चोकमा ६ वटा पुल निर्माण सम्पन्न भएको छ भने रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएकाछन् । आगामी एक महिनाभित्र अरु डेढदर्जजन पुल तयार हुने जनाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकले देलखा र सिन्धुपाल्चोकमा गरी सबैभन्दा धेरै ९ वटा पुल निर्माण सम्पन्न गरेको छ ।

त्यस्तै पूर्वाधार विकास कार्यलय, ललितपुर र पूर्वाधार विकास कार्यालय, काभ्रेले ६/६ वटा, पूर्वाधार विकास कार्यालय, चितवनले ५ वटा, पूर्वाधार विकास कार्यालय, नुवाकोटले ४ वटा र पुर्वाधार विकास कार्यालय, रामेछापले २ वटा पुल निर्माण सम्पन्न गरेकाछन् । मन्त्री फुयालले प्रदेशका कुनैपनि क्षेत्रलाई विकट क्षेत्रको रुपमा नछोडिने बताए ।

प्रतिक्रिया दिनुहोस्