प्रशिक्षणका लागि तयार रहन एन्फाको निर्देशन



काठमाडौं साउन ९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौं तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो ।

राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौं बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताए । साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उनले बताए ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेदेखि प्रारम्भ हुनेछ । उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गरे । खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ । त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ ।

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो । लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो । सरकारले बुधबार लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्