फेरि सर्‍यो उद्योग वाणिज्य महासंघ निर्वाचन



काठमाडौं साउन ९ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि सरेको छ ।

पदाधिकारीको बिहीबारको बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघको चुनाव यही २५ र २६ गतेका लागि तोकिएको थियो । असारमा अन्तिम साता महासंघले निर्वाचन साउन अन्तिममा गर्ने निर्णय गरे पनि पुन: स्थगित भएको हो ।

लकडाउन खुला गरे पनि सरकारले सभा, सम्मेलन, भोजभतेर नगर्नु भनेकोले निर्वाचन स्थगित गर्नु परेको महासंघले जनाएको छ । महासंघका अनुसार यदि सरकारले सभा, सम्मेलन गर्न पाइने सूचना जारी गरेमा त्यसको १५ दिनभित्र निर्वाचन गरिने छ ।

महासंघको वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् । वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो । उक्त पदमा हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्