किन अन्योल सन्दीपले सिपिएल खेल्नेमा ?



काठमाडौं साउन १० . नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए । सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो ।

सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँछन् । सरकारको सहयोगले एउटा नेपाली खेलाडी विदेशमा खेल्न सक्ने र खेलका माध्यमले विदेशमा नेपालको इज्जत र प्रतिष्ठा बढ्ने उनको बुझाइ छ ।

एक साताभित्र सन्दीप टोबागो पुग्न नसके उनले सिपिएल गुमाउनुपर्ने अवस्था आउनेछ । सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्