पश्‍चिमाञ्‍‍चल होटल संघको आग्रह- ‘होटल सञ्चालनको पूर्वतयारीमा जुट्नु’



कास्की साउन १० । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल सङ्घ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।

सङ्घका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीले लामो समय बन्द रहेका होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनको लागि तयारी गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थाले पर्यटकहरुको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चितता गर्न आग्रह गरिन्छ । आतिथ्यता प्रदान गर्न सङ्घले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई होटल सञ्चालन कार्यविधि (प्रोटकल) अनुरुप तालीम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने हुँदा यहाँहरुलाई आन्तरिक तयारीमा जुट्न आग्रह समेत गरिएको छ ।

पर्यटनलाई चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भूमिका रहने भन्दै सङ्घले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमहरुबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यहरुको तयारी गरिरहेको पनि जनाएको छ । यसैगरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रुपले खुल्दै जाने अपेक्षा सङ्घले गरेको छ । पर्यटनलाई पुरानो लयमा फर्काउन होटल सञ्चालन कार्यविधि जारी गरेको अवस्थामा सो कार्यविधि अवलम्बन गरी व्यवसाय सञ्चालन गर्नु सबैको दायित्वलाई स्मरण गराइएको छ ।

नेपाल सरकारद्वारा गत श्रावण ६ गतेबाट जन जीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिब चार महिनाको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्