वाग्मती प्रदेश : गोसाइँकुण्ड धार्मिक मार्गका होटल संकटमा



रसुवा साउन ११ । होटल तथा लज सञ्चालनको आयले जीविकोपार्जन गर्ने गोसाइँकुण्ड धार्मिक मार्गका व्यवसायी आर्थिक सङ्कटमा परेका छन् । कोभिड–१९ का कारण पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजन नआउँदा होटल तथा लजका कोठा ताल्चा लगाई राख्नुपरेका कारण धार्मिक मार्गका सबै व्यवसायी आर्थिक सङ्कटमा परेका हुन् ।

दैनिकरूपमा फाटफुट र गङ्गा दशहरा एवं जनैपूर्णिमाको विशेष पर्वसमेतमा वार्षिक सरदर १५ हजारभन्दा बढी भक्तजन ओहोरदोहोर भइरहने क्षेत्रमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै मानिसको आगमन ठप्प भएको स्थानीय व्यवसायी बताउँछन् । जिन्दगीमा एकपटक भए पनि पुग्नै पर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा भूकम्पपश्चात् विशेष मेलाको साथै दैनिक सरदर २०÷२५ जना तीर्थयात्रीको आगमन भए पनि गत चैतदेखि नै सबै यात्रुको आगमन बन्द भएको हो ।

समुद्री सतहदेखि १४ हजार १०० फिट उचाइमा विराजमान भगवान् शङ्करको दर्शनार्थ आउने भक्तजनको सेवाबाट रोजगारी लिइरहेका स्थानीय व्यवसायी अहिले व्यवसाय स्थल कुरेरमात्र बस्न बाध्य भएको चन्दनबारीका पासाङघ्युर्मी तामाङ बताउनुहुन्छ । तीर्थ जाने प्रमुख मार्ग धुञ्चे, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक, गोसाइँकुण्डसमेतका स्थानमा रहेका १७ भन्दा बढी होटल तथा लज खाली अवस्थामा रहेको बताइएको छ ।

विसं २०३५÷३६ भन्दा अगाडि गोसाइँथान जाँदा बासका लागि ढुङ्गे ओढार खोज्नुपर्ने समस्या समाधान गर्न स्थानीयबासिन्दाले ठूलो लगानीमा क्रमिकरूपले निर्माण गरेका होटल तथा लजसमेत कोरोनाको समस्याले बन्द गर्नुपर्दा हिमाली उच्च स्थानमा पूर्वाधार निर्माणका लागि लिइएको ऋणको ब्याज र साँवा रकमसमेत घटाउँदै लान समस्या परिसकेको व्यवसायीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्