राखेपको सदस्य सचिवमा फेरि सिलवाल नियुक्त



काठमाडौँ साउन ११ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा फेरि रमेश सिलवाललाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीन जना मध्येबाट सिलवाललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ का कारण १ वर्षमै पदमुक्त भएका सिलवाल नयाँ ऐनमा व्यवस्था भएअनुसारको प्रक्रिया पूरा गरी पुनः नियुक्त भएका हुन् । संघीयता अनुकूल हुने गरी ल्याइएको खेलकुद ऐनको पहिलो कार्यान्वयनका रुपमा सदस्यसचिवको छनोट प्रक्रिया प्रतिस्पर्धात्मक विधिबाट गरिएको हो ।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका खेल विज्ञद्वय रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित समितिले २५ प्रतिस्पर्धी मध्येबाट सिलवालसहित भलिवलकी पूर्वकप्तान अन्जु श्रेष्ठ र भलिवल संघका पूर्व उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापामगरको नाम मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले मन्त्रिपरिषद् पेश गरेअनुसार सोमबार नियुक्ति गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्