नुवाकोट चारघरेका भट्टराईसहित राखेपमा ६ जना सदस्य मनोनीत



नुवाकोट चारघरेका भट्टराईसहित राखेप बोर्डमा ६ जना सदस्य मनोनीत भएका छन् ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अनुसार बिहीबार ६ सदस्य मनोनयन गरेका हुन् । नुवाकोटका भट्टराईलाई परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा मनोनयन गरिएको हो ।

राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेको मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय खेलकूद विकास ऐन, २०७७ अन्तर्गत राखेपको अध्यक्षमा भने मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ । मन्त्री विश्वकर्माले खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहनुभएका चितवनका रिम रानाभाट र ओखलढुङ्गाका इन्दिरा निरौलालाई मनोनयन गरेका छन् । निरौला यसअघि पनि राखेप सदस्य थिए ।

उनले राष्ट्रिय खेल सङ्घको सिफारिसबाट काठमाडौंका अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मनोनयन गरेका छन् ।
मन्त्रालयले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो । उनहरुले बुधबार पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्