‘अब देशमै छ रोजगारी’ अभियान शुभारम्भ



काठमाडौं साउन १५ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ बाट सिर्जित बेरोजगारी समस्या समाधान गर्न थुप्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

रोजगारी सर्भिस प्राली र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा ल्याइएको ‘अब देशमै छ रोजगारी’ अभियानको बिहीबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्दै उनले आसन्न बेरोजगारीको सङ्कटबाट बच्नका लागि नेपालले १० लाख बढी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताए । कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग सात लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारीबाट फर्केका साथै श्रम बजार प्रवेश गर्ने नयाँ जनशक्तिका लागि पनि अवसर सिर्जना गर्न सबैको सहयोगको खाँचो औँल्याए ।

मन्त्री डा खतिवडाले रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र त्यसका लागि सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको उल्लेख गर्दै यसले मात्र उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताए ।

रोजगारी सर्भिसले वेबसाइट, मोबाइल एपलिकेसन, सामाजिक सञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसल प्रयोग गरेर पञ्जीकृत प्रवासी पुनरागमनलाई उचित रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पुर्‍याउन सहकार्य गर्दै आएको छ । यो अभियान प्रवासी पुनरागमन र अन्य आर्थिकरुपले वञ्चित, समाजिक बहिष्कृत समूहको जीवनयापन आवश्यकताको प्रतिक्रिया दिन अघिल्ला प्रयासमा निर्मित रहेको रोजगारी सर्भिसेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्