वाग्मती प्रदेश : चितवनका किसान युरिया मल नपाएर हैरानीमा



चितवन साउन १८ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि युरियामल नपाएर चितवनका कृषक हैरानीमा परेका छन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।

माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहार्दा युरियामल पाउन नसकेको गुनासो गरे । युरियामल जिल्लाका कुनै पनि स्थानमा पुर्‍याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए । उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर अहिले साल्ट ट्रेडिङ र आफूहरुसँग युरियामल नभएको उनले बताए

उनका अनुसार जिल्लामा युरियामल मात्र तत्काल तीन हजार मेट्रिक टन आवश्यक छ । लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएको कम्पनीले जनाएको छ ।

जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्