संस्मरण : माडी, कुसुमखोला अनि अयोध्या



केही दिनको अन्तरालमा मेरो गाउँ माडीका समाचारहरु नेपालको प्रमुख समाचार बन्दा दु:ख, खुसी अनि बाल्यकालको पलहरुले तानीरह्यो ।

थाहा भएन श्री राम माडीमा नै जन्मनुभयो कि ? तर सानोमा बैकुण्ठ ताल, निलो रह, रिउ खोलामा पौडी खेल्दा बासुदेव बाजेले खरीदेवी मन्दिरमा शंख बजाएको सुन्दा आनन्द लाग्थ्यो ।

पाँच पाण्डव छेउमा गोद्दक मेला लाग्दा आमाले जान नदिए पनि झगडा नै गरेर भए पनि जाने गरिन्थ्यो, अनि सोमेस्वोरडाँडाको तल छरछरे मेला खुब गइन्थ्यो, मन्दिरैमन्दिर अनि भगवान् नै भगवान् छ भन्थे त्यतिखेर बुढापाका ।

अनि गणेश कुञ्ज र खरिकुनामाथिको जंगलमा जाँदा देउराली देउतालाई नमस्ते गर्दै ढुंगा चढाएको, अच्चम्म-अच्चम्मको धुइरो लागेको माटोको थुप्रो अहिले सम्झिँदा ऋषिमुनी ध्यानमा बसेर विलिन भएजस्तो ढिक्काहरु ।

साथीहरु महादेव, बले, अर्जुन, गुमा, उत्तम, कैलु, अन्य साथीहरु मिलेर त्यो जंगल खुब गइन्थ्यो, कुसुम, खजुरु, जमुना मज्जाले खानी अनि घर पनि ल्याउने ।

कुसुम खोला, प्याउली, बगाईको चउर, रिउ खोलामा स्कुल छुट्टी अनि बिहानको पढाई हुँदा भैँसी, गाईगोरु लगेर चराउने अनि दिनभरि त्यहीं खेलिन्थ्यो , त्यो एक किसिमको रंगशाला थियो, ती सबै ठाउँहरु निकुञ्जअन्तर्गत पर्ने थिएन, त्यसैले कुनै जंगली जनावरको पनि डर थिएन, त्यतिखेर पनि त्यो वरपर सुकुम्बासी बस्ती थियो तर न अहिले जस्तो हात्ती ल्याएर आगो लगाएर जलाउँथ्यो।

त्यत्तिखेर बगाई चौकी थियो हवल्दारको कमान्डमा । अनि बेलुकी बेलुकी हाम्रै गाउँमा भलिबल अनि फुटबल खेल्न आउने गाउँलेहरुसँग राम्रै सम्बन्ध थियो । बेलाबेलामा आर्मीले अत्याचार गरेमा हाम्रै गाउँकोहरुले आर्मीको बन्दुक खोसेर सबक सिकाएको अझै सम्झन्छु । शकुन्तला गुरुङको बाबा बकसे गुरुङले आफ्नो गाउँमा नराम्रो शब्द बोल्ने अनि केटीहरुलाई जिस्क्यायो भनेर एक्लैले ५ जना आर्मीलाई पिटर बन्दुक खोसेको अनि पछि ठूलो काण्ड नै भएको थियो ।

प्याउली कान्छलाई आर्मीले पिट्दा हाम्रै गाउँलेले बचाएर सम्पूर्ण आर्मीलाई बाँधेर पुलिस चौकीमा बुझाएको अनि पछि प्याउली कान्छा प्रधानपञ्‍च अनि त्यो ठाउँको नेता नै भए ।

आज त्यही कुसुम खोलामा हात्तीको हुल लगेर आर्मीले घर जलाएको बकसे गुरुङ मामा, प्याउली कान्छा अनि अहिलेका पीडित चेपाङ परिवार सम्झिरहेछु ।

आशा छ, माडीमा यो अत्याचारको अन्त होस्, माडीवासी पहिलेको जस्तै प्रफुल्ल भएर बाँच्न पाउन् अनि केपी ओली बाले भनेको सत्य होस् । श्री राम मेरै ठाउँमा जन्मेको सत्य होस् ।

जय माडी, जय मानव

(लेखक बेलायत निवासी हुन् ।)

प्रतिक्रिया दिनुहोस्