भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले क्रिकेटबाट सन्यास लिएको घोषणा



काठमाडौं साउन ३१ । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ : २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ तर उनले कुन फर्म्याटबाट सन्यास लिएको हो भन्ने कुरा भने खुलाएका छैनन् । भारतीय सञ्चारमाध्यमहरुले भने धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।

भारतीय क्रिकेटमा धोनीलाई सफल कप्तानका रुपमा हेरिन्छ । धोनीकै कप्तानीमा भारतले सन् २००७ मा ट्वान्टी–२० विश्वकप, सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो । धोनीले अन्तिम पटक सन् २०१९ को विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्धको खेल खेलेका थिए । जुन खेल भारतले हारेको थियो ।

पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्‍न नपाउँदै ३३ वर्षीय रैनाले यो निर्णय लिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । इन्स्टाग्राममा उनले धोनीसँग खेल्नु आफ्नो खेल जीवनको सुःखद पक्ष रहेको उल्लेख गर्दै उनीसँगै खेलबाट सन्यास लिन पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन् । उनले सबै समर्थकलाई पनि धन्यवाद पनि दिएका छन् ।

रैनाले सन् २००५ मा श्रीलंक विरुद्धको खेलमा एकदिवसीय खेलबाट करिअरको सुरुवात गरेका थिए । उनी त्यसबेला १९ वर्षका थिए । उनले तीनै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने पहिलो भारतीय क्रिकेटको रुपमा कीर्तिमान कायम राखेका छन् । सन् २०११ मा धोनीको कप्तानमा भारतले विश्वकप जित्दा उनी पनि उक्त टिममा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्