बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधि



एजेन्सी,भदौ ८ । जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । फाइनल खेलमा आइतबार राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० गोलले हराउँदै बायर्नले उपाधि हात पारेको हो ।

खेल पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा भएको थियो । उक्त निर्णायक खेलमा बायर्नलाई जिताउन किंग्स्ले कोमानले निर्णायक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको र उक्त खेलको ५९औं मिनेटमा कोमानले जोसुआ किम्मिचको पासमा गोल गर्दै बार्यनलाई उपाधि जिताएका थिए ।

पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक तरिकाले बितेपनि दुवै टोलीले गोल भने गर्न सकेका थिएनन् । १९औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गरेको प्रहार बायर्नका गोलरक्षक नुयरले उत्कृष्ट तरिकाले बचाएका थिए ।

खेलको २१औं मिनेटमा लेवान्डोस्कीले गोल गर्ने मौका गुमाए । उनको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो । खेलको ३२औं मिनेटमा लेवान्डोस्कीको प्रहार नाभासले ब्लक गरेका थिए । ग्नाब्रीको प्रहारलाई लेवान्डोस्कीले गोलको दिशा दिन खोजेका थिए । तर, नाभासले बल पुस गर्दै उनको प्रयास बिफल बनाइदिए ।

यस्तै खेलको ४४ औं मिनेटमा एम्बाप्पेको बल नुयरले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, ५९औं मिनेटमा कोमानले गोल गर्दै बायर्नलाई उपाधि जिताए ।

यससँगै बायर्न छैटौं पटक उपाधि जित्दै इंग्लिस क्लब लिभरपुलसँग उपाधि बराबर बनाएको छ । दुवैले समान ६-६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

यता, पहिलोपल्ट फाइनल पुगेको पीएसजीले पहिलो पटक नै च्याम्पियन्स लिगको उपाधि जित्न सकेन । यसअघि पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइपजिगमाथि ३–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । बायर्नले भने फ्रेन्च क्लब लियोनमाथि ३–० गोलको जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

तस्बिर:एजेन्सी

प्रतिक्रिया दिनुहोस्