नुवाकोटेली स्रष्टाहरुको ‘कोरोना र कविता’ विशेष भर्चुअल कवि गोष्ठी



नुवाकोट भदौ १६ । नुवाकोटेली स्रष्टाहरुको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानले जुम प्रविधिको माध्यमबाट ‘कोरोना र कविता’ विशेष भर्चुअल कवि गोष्ठीमा स्वदेश र विदेशमा रहेका स्रष्टाहरुले साहित्यिक प्रस्तुती दिएका छन् ।

विश्वव्यापी महामारी बनेको कोभिड–१९ को असरका कारण सूचना र सञ्चारको उपयोगका माध्यमबाट प्रतिष्ठानले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राजकुमार अर्याल पुत्ला, राजीन्द्र फुयाँल, राजु पुडासैनी, भैरवी भूगोल, रुपा थापा, विक्रम तिमल्सिना, सजिना मोक्तान, ईश्वर पौडेल, गीता पुडासैनी, प्रकाश अजात, सुमित्रा सुमी, भैरवी भकृष्ण कुसुम, जानुका दहाल, प्रकाश पाण्डे, मोदनाथ सादा, राजेन्द्रमान डङ्गोल, राजकुमार पुडासैनीलगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा गायक पुस्कल किरणले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘वैशाख’ कविता वाचन गरेका थिए । प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं महाकाव्यकार श्रीहरि फुयाँलले महामारीका समयमा विश्वभूमण्डलीकरणको सहायतामा काठमाडौँ, नुवाकोट, अमेरिका, अष्ट्रेलिया, जापानलगायत मुलुकमा रहेका कविहरुका कविता प्रस्तुतीले एक प्रकारको न्यास्रो मेटाएको बताए ।

संस्थाका आरएम डङ्गोलले विसं २०६६ मा स्थापित प्रतिष्ठानले साहित्यिक यात्रा र गतिविधि गर्दै आएको र साहित्य, पर्यटन र समृद्धिलाई जोड्ने गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्