भदौ २३ मा नुवाकोटस्तरीय वक्तृत्वकला प्रतियोगिता, पञ्‍चकन्याबाट सदिक्षाले भाग लिने



रक्षा श्रेष्ठ र मनोहर भण्डारी

नुवाकोट भदौ १८ । नुवाकोटमा जिल्लाव्यापी अन्तरपालिकास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि पञ्‍चकन्याबाट सदिक्षा कँडेल छनोट भएकी छन् ।

पञ्‍चकन्या गाउँपालिकाले जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट चरणका लागि बुधबार आयोजना गरेको भर्चुअल कार्यक्रममा पञ्‍चकन्या गाउँपालिका ५ को बच्छला माविकी कँडेल प्रथम भएकी हुन् । उनले अब यही भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७७ को अवसरमा हुने ‍ नेपालय अनलाइन वक्तृत्वकला प्रतियोगता २०७७ मा भाग लिने छिन् ।

बुधबार छनोट चरणको प्रतियोगितामा पञ्‍चकन्याका ९ विद्यालयबाट १३ विद्यार्थीले भाग लिएको सामाजिक कार्यकर्ता सरोजकुमार खातीले जानकारी दिए । त्यसक्रममा कँडेल प्रथम, उदयजालपा मावि पञ्‍चकन्या ४ का मनोहर भण्डारी दोस्रो, पञ्‍चकन्या २ को कालिका माविका नरेश बिक र बच्छला मावि पञ्‍चकन्या ५ की रक्षा श्रेष्ठले तेस्रो स्थान हासिल गरेका छन् ।

छनोट चरणका प्रतियोगितालाई समेत पञ्‍चकन्या गाउँपालिका र व्यक्तिगत आकर्षक पुरस्कारको व्यवस्था गरिएको पञ्‍चकन्या गाउँपालिका फिल्ड सहायक समेत रहेका खातीले बताए । उनले कोरोना भाइरस संक्रमण जोखिमका कारण भर्चुअल प्रतियोगिता गरिएकोले केही सहज हुने बित्तिकै सहभागीलाई पुरस्कार उपलब्ध हुने बताए ।

नुवाकोटका अन्तरपालिकास्तरीय माध्यमिक विद्यालयका छात्राछात्रहरुबीच हुने प्रतियोगताका लागि मूल्यांकनकर्ताहरु शशि पन्थी, सविना कार्की र रमेश प्रसाईं छन् । प्रतियोगिता रुडेक नेपालको आयोजनामा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्