जि२० का सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह- कोरोना नियन्त्रणका ठोस कार्यक्रम ल्याउनू



काठमाडौं भदौ १९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

बिहीबार साउदी अरेबियाद्वारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्बोधन गर्दै उनले हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा लकडाउनको सामना गरिरहका बताए । उनले विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको उल्लेख गरे । सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न उनले आग्रह गरेका छन् ।

महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउने भएकोले त्यस विषयमा पनि सोच्न उनले आग्रह गरेका छन् । बैठकमा संगठनका विदेशमन्त्रीहरुले भने देशका सीमाहरु खुला राख्नुपर्ने विषयमा छलफल गरेका र अब कोरोना महामारीबाट बच्ने विभिन्न स्वास्थ्यका मापदण्डहरु अपनाएर सीमा खोल्नुपर्ने बताएको समाचार जनाइएको छ ।

साउदी अरेबियाको पहलमा भएको जि २० को सो भर्चुअल बैठकमा उक्त संगठनमा आबद्ध देशका विदेशमन्त्रीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्