नुवाकोटको अन्तरपालिका माविस्तरीय वत्तृत्वकलामा दाहाल प्रथम



नुवाकोट भदौ २४ । नुवाकोट जिल्ला अन्तरपालिका माविस्तरीय वत्तृत्वकला प्रतियोगितामा बेलकोटगढी नगरपालिका जिलिङ्गका अनिल दाहाल प्रथम भएका छन् ।

अनलाइन विधिमार्फत् मंगलबार सञ्चालन भएको प्रतियोगितामा कल्याणीदेवी मावि जिलिङ्गबाट सहभागी भएका दाहालले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगिताको दोस्रोमा लिखु गाउँपालिकाको नारायणदेवी मावि (खानीगाउँ बर्राफेदी)का दिवस ढकाल र विदुर नगरपालिका शैलेन्द्र रिमाल तेस्रो भएका छन् । उनी रणभुवनेश्वरी मावि देविघाट(खड्गभञ्याङ्ग)बाट सहभागि भएका हुन् ।

विभिन्न पालिकाले छनोट गरेर पठाएका १२ जना प्रतिस्पर्धीले प्रतियोगतामा भाग लिएका थिए । सहभागीहरुलाई बोल्ने समय ५-५ मिनेट दिइएको थियो । उनीहरु ‘बैकल्पिक शिक्षा सिकाईमा स्थानीय सरकारको भूमिका’ विषयमा आफ्नो धारणा राखेका थिए ।

यस वर्षको ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा पुस्तकालय दिवसको अवसर पारेर ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र नेपाल (रुडेक)ले अनलाईन वत्तृत्वकला प्रतियोगिता गरेको हो ।

प्रतियोगिताका पहिलोलाई ल्यापटप र प्रमाणपत्र, दोस्रोलाई ट्याब्लेट र प्रमाण पत्र र तेस्रोलाई एन्ड्रोइड मोबाइल र प्रमाणपत्र प्रदान गरिने छ । अब तत्कालै उनीहरुलाई पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्