गोगंबुको नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’, टिकट लिन आउने यात्रु बढे



काठमाडौं असोज १ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिनापछि खुलेको काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ को सेवा सुरु गरिएको छ ।

कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै बिहीबारदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउँछन् । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ ।

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्