छ महिनापछि आन्तरिक उडान सुरु, विमानस्थलमा चहलपहल



काठमाडौं असोज ५ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि नेपालभर लागू गरिएको लकडाउन र निषेधाज्ञाको ६ महिनापछि सोमबारबाट आन्तरिक उडान सुरु भएको छ ।

सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । लकडाउन सुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै ६ महिना आन्तरिक उडान ठप्प भयो ।

उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् ।

आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी सुरक्षित हवाई उडानका लागि सबैखाले प्रयत्न गरिएको बताए । अहिले दैनिक ५० वटासम्म मात्रै उडान सञ्चालन गर्न सकिने महाप्रबन्धक केसीले बताए । आन्तरिक उडान शुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन् ।

प्रतिक्रिया दिनुहोस्