मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान



काठमाडौं कात्तिक २० । घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ ।

गोलकिपर किरण चेम्जोङ कप्तानीमा रहेको नेपाली टोली बंगलादेशमा एक साता बस्नेछ । लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको छ ।

बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् ।

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् । मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्