बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी



पटना कात्तिक २६ । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू) सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धन (एनडीए)ले नै बहुमत प्राप्त गरेको हो । यस गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कूल ११० सिट मात्रै हासिल गरेको छ । पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ ।

दोस्रोमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको भाजपा छ भने मुख्यमन्त्री नितिश कुमारको जेडियुले केबल ४३ सिट जितेको छ । निर्वाचनको नयाँ नतिजा अनुसार अहिलेका मुख्यमन्त्री नितिश कुमार नै फेरि मुख्यमन्त्री बन्ने देखिएको छ । तर भाजपाको तुलनामा आफ्नो पार्टीसँग निकै कम सिट रहेको स्थितिका कारण नितिश कुमारलाई चुनौती र खतरा भने निकै धेरै रहेको छ ।

नितिश कुमारले आफू बिहारमा अन्तिम पटकका लागि मुख्यमन्त्री हुने यसअघि नै बताइसक्नु भएको छ । तीन कार्यकाल मुख्यमन्त्री भइसकेका नितिश कुमार अब चौथो पटक मुख्यमन्त्री हुने भएको हो ।

नतिजा सार्वजनिक भएसँगै एनडीएका समर्थकहरुले विजय जुलुश निकालिसकेका छन् । उनीहरुले वर्तमान केन्द्रीय तथा राज्य सरकारको समर्थनको रुपमा अहिलेको नतिजालाई व्याख्या गरेका छन् । कुल २४३ सिट रहेको बिहार राज्यको विधान सभाका लागि कोरोनाभाइरसको महामारीका बीचमा तीन चरणमा निर्वाचन भएको हो ।

निर्वाचनमा मतदानका लागि एक लाख छ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्