पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त



ब्युनस आयर्स मंसिर ३ । दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् ।

पेरुका राजनीतिज्ञ समेत रहनु भएका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकार विरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उहाँले गत नोभेम्बर १५ मा राजीनामा दिएका थिए ।

मेरिनाको सरकार विरुद्ध भएको उक्त प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए । राष्ट्रपति पदको सपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षाका लागि भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरे । उनले प्रदर्शनका क्रममा बेपत्ता भए भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने बचनबद्धता प्रकट गरे ।

राष्ट्रपति सागास्तीले पछिल्लो पटक भएको जनप्रदर्शन कोभिड–१९ विरुद्धको संघर्षका साथै आगामी सन् २०२१ को अप्रिल ११ मा हुने राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्