नेपाल प्रिमियर लिग आयोजना गर्न क्यान अग्रसर



काठमाडौं मंसिर ४ । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने स्वीकृति दिएको छ ।

दिल्लीको सेभेन थ्री स्पोर्ट्स (एसथ्रीएस) को प्रस्तावअनुसार क्यानसँग सम्झौता भएमा उनीहरूले १० वर्षका लागि एनपीएल आयोजना गर्नेछन् । त्यसबापत भारतीय पक्षले क्यानलाई १० वर्षको ४० करोड प्रदान गर्नेछ । पहिलो वर्ष साढे २ करोड प्रदान गरेपछि वार्षिक रूपमा त्यो रकम बढाएर दिने भारतीय पक्षको प्रस्ताव छ ।

क्यानको स्वामित्व र नेपालको हितमा हुने गरी साधारणसभाले कार्यसमितिलाई एनपीएलको सम्झौता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । सम्झौतापछि एनपीएल नेपालको घरेलु प्रतियोगितामा माथिल्लो स्तरको लिग हुने चन्दको दाबी छ ।
एनपीएल आयोजना भएमा देशको चौथो फ्रेन्चाइज लिग हुनेछ । नेपालमा यसअघि नै एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी हाल तीन लिग सञ्चालनमा छन् । क्रिकेटका प्रमुख देशहरूमा देशको एकमात्र फ्रेन्चाइज लिग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्