पोखरामा खेलकूद प्रतियोगिता सुरु



कास्की मङ्सिर २४ । कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ ।

कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो । पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भएको थियो । कोरोना कहरका कारण गत वर्ष फागुन अन्तिम सातादेखि खेलकूद नगरी पोखरामा सबै खेल गतिविधि ठप्प भएका थिए । वर्षभरिनै नियमित खेलकूदका प्रतियोगिता सञ्चालन हुने पोखरा रङ्गशालामा सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका कारण लामो समय कुनै पनि प्रतियोगिता तथा प्रशिक्षण नहुँदा खेलाडी प्रभावित बने । नौ महिनापछि रङ्गशालामा उपस्थित भएर प्रतियोगिता खेल्न पाउँदा खेलाडीहरु उत्साहित छन् ।

कोरोना महामारीको केही समयपछिनै विश्वका अन्य देशमा खेलकूद नियमित रहे पनि नेपालमा लामो समय बन्द हुँदा आफूहरुले लामो समय मैदानमा आउन नपाउँदा निराश बनेको क्रिकेट खेलाडी दीपेश खत्री बताउँछन् ।

क्रिकेट, फुटबललगायत खेलका खेलाडीको उमेर कम हुने भएकाले एक वर्ष क्षति हुँदा प्रदर्शनसमेत प्रभावित हुने खत्रीको भनाइ छ । आगामी पुस ११ देखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोेगिताका लागि जिल्ला क्रिकेट सङ्घले खेलाडी छनोट गर्न पोखरा रङ्गशालामा पुरुषको क्लबस्तरीय प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा विभिन्न छ टोलीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्