‘प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने’



विराटनगर पुस ४ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताएका छन् ।

आइटिफ तेक्वान्दो सङ्घद्वारा शुक्रबार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्