बेलायतका विभिन्‍न सहरमा आइतबारदेखि ‘टिएर ४’ प्रतिबन्ध



लन्डन पुस ५ । कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा बेलायतका विभिन्न क्षेत्रमा आइतबार २० डिसेम्बरदेखि थप कडा प्रतिवन्धहरु लागू भएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् साउथ तथा इष्ट इंग्ल्याण्डमा ‘टिएर ४’ प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । यसअघि विभिन्न ३ टिएरमा राखेर क्षेत्रगत रुपमा प्रतिबन्धहरु लागू गरिएकोमा संक्रमण बढ्दै गएपछि थप कडा प्रतिबन्धसहितको टिएर ४ लागू गर्न लागिएको हो ।

टिएर ४ प्रतिवन्धअन्तर्गत अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द रहनेछन् । अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय बन्द हुनेछन् । सर्वसाधारणलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्रै रहन ‘स्टे होम’ को अपील जारी गरिएको छ ।

यसअघि क्रिसमसका अवसरमा दिने भनिएको ३ परिवारसम्म जमघट हुन पाइने छुट पनि स्थगित गरिएको छ । टिएर ४ बाहेकका क्षेत्रमा पनि उक्त छुट पहिला भनिएजस्तो ५ दिनबाट घटाएर क्रिसमसको दिनलाई मात्रै सिमित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्