दोस्रो दादा दी कप उपाधि हिमालायन फुटबल क्लबलाई



अस्ट्रेलिया पुस ६ । डार्विनस्थित दादा दी (DADA DI) रेष्टुरेन्टको प्रायोजनमा डार्विन हार्ट फुटबल क्लबले आयोजना गरेको “दादा दी कप” फुटबल प्रतियोगिता आइतबार सम्मान भएको छ । पुरुषतर्फ खुला प्रतिस्पर्धामा ६, ३५+ उमेर समूहमा ३, महिलातर्फ २ र बच्चाहरुका २ गरी जम्मा १३ टिम सहभागी थिए । स्थानिय नाकारा (NAKARA) ग्राउण्डमा सम्पन्न प्रतियोगितामा पुरुष खुलातर्फ हिमालायन फुटबल क्लब ए प्रथम भए भने महिलातर्फ टिम रातो बिजय भयो ।

त्यसैगरी पुरुष तर्फको ३५+ अन्तर्गत रिदम फुटबल क्लब प्रथम भयो । प्रतियोगिताको दौरानमा उत्कृष्ट खेल प्रदर्शन गरी महिलातर्फ रातो टिमका प्रतिक्षी आले MVP घोषित भइन् भने पुरुषतर्फबाट हिमालायन फुटबल क्लबका रविन श्रेष्ठ MVP छानिए ।

त्यसैगरी उत्कृष्ट गोलरक्षकको उपाधि विशाल बस्नेतले पाए भने सर्वाधिक गोल सुलभ मास्केले गरेका थिए । सबै बिजयी खेलाडीहरुलाई दादा दी रेष्टुरेन्टका सञ्‍चालक दिनेश गौतमबाट पदक तथा ट्रफी प्रदान गरियो । पुरस्कार वितरणको क्रममा बोल्दै दिनेश गौतमले भने, “तपाईं ग्राहकहरुले मेरो रेष्टुरेन्टको ब्यापार बढाइदिनाले नै म यो खेलको प्रायोजक बन्न सफल भएँ, यसलाई निरन्तरता दिनेछौं र आगामी वर्षहरुमा अन्य समुदायको टिमलाई पनि आमन्त्रण गरी प्रतियोगितालाई अझै बिस्तार गर्नेछौं ।”

वर्षाका कारण खेलमा प्रतिकूल असर परे पनि दर्शकहरको कुनै कमी थिएन । आयोजक क्लबका सचिव फिरोज राणाका अनुसार दुवै दिन लगभग २५० जना दर्शक खेल हेर्न आएका थिए ।
फोटो साभार : फिरोज राणा

प्रतिक्रिया दिनुहोस्