सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने



काठमाडौं पुस १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएका व्यवस्थापक शिवाकोटीले जानकारी दिए । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।

बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया जाएका हुन् । क्वारेन्टाइन अवधि सकिएपछि उहाँ नियमित अभ्यासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्