म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट विश्‍व रेकर्ड कायम, नायक श्रीदेव लगायतलाई पनि सम्मान



काठमाडौं पुस २० । माधवराज खरेलको निर्देशन रहेको म्युजिक भिडियो ‘हाम्रो साझा हिमाल’बाट नयाँ विश्‍व रेकर्ड कायम भएको छ ।

संसारको अग्लो स्थानमा छायांकन गरिएको म्युजिक भिडियाको रुपमा ‘हाम्रो साझा हिमाल’ले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा आफ्नो नाम लेखाएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले भिडियोका निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईलाई गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाण पत्र बितरण गरेका थिए । भिडियो नेपालको पर्यटकीय नगरी सोलुखुम्बुको ४ हजार ७ सय ६८ मिटरको उचाईमा रहेको गोक्योमा छायांकन भएको थियो ।

गीतले हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिँदै यसको संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्ने जोड दिएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि.सी, बरिष्ठ कलाकार उत्तम के.सी लगायतको उपस्थिति रहेको कार्यक्रममा भिडियो निर्माणमा सहयोग गर्ने श्रीदेव भट्टराई, दीर्घराज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, गोपाल ढकाल (छन्दे)लगायत करिव दर्जन बढी व्यक्तिलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम पिम नेपालको आयोजनामा भएको हो । लामो समयदेखि नेपाली चलचित्र कलाकारिता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिलेसम्म कसैले पनि उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वर्ल्ड रेकर्डले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्