वाग्मती प्रदेश : रसुवामा पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन



रसुवा पुस २२ । हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् ।

बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका होटल तथा लजले आफ्ना नियमित सेवा दिन थालेका हुन् । धुञ्चेदेखि लाङटाङ तथा गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग, नेपालको उत्तरी नाकाको रसुुवागढीलगायत हेलम्बु, डाडेपाटीलगायतका स्थानमा सञ्चालित करिब २०० पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आइसकेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान उपनामले परिचित रामशरण गजुरेलले जानकारी दिए ।

हिमाली जिल्ला रसुवामा कोरोनाको खासै प्रभाव नपरेको र पर्यटकीय क्षेत्रको बढी हिस्सा ओगटेको गोसाइँकुण्ड गाउँपालिकाभित्र रहेका निजी तथा सरकारी विद्यालयले समेत बालबालिकाको नियमित पठनपाठन निर्वाधरूपमा पुनः सञ्चालन गराइसकेकाले रोगप्रति आशङ्का गर्ने ठाउँ नभएको होटल तथा पर्यटन व्यवसायी सङ्घले स्पष्ट पारेको छ ।

पर्यटकका लागि सेवा दिन अहोरात्र तल्लीन यहाँका व्यवसायीले कोरोनाको सङ्क्रमण शुरू भएयता मासिक रु छ करोड ७० लाख घाटा व्यहोर्दै जानुपरेको अवस्थामा पाहुनाको आगमनले केही आशा पलाउँदै गएको होटल तथा लज सञ्चालकले बताएका छन् । कोरोनाको असरले यस भेकमा पर्यटनसँग जोडिएका ७० भन्दा बढी पथ प्रदर्शक एवं करिब ४०० मजदुरसमेत बेरोजगार बन्न पुगेको सङ्घका पदाधिकारीले निचोड निकालेका छन् ।

माओवादी द्वन्द्व र विसं २०७२ को विनाशकारी भूकम्पभन्दा अहिलेको कोरोनाको असरले पर्यटन व्यवसायी जटिलरूपले धरासायी मोडमा पुगेको उनीहरूको ठूलो गुनासो बढेको पाइन्छ । एक सयको हाराहारीमा रहेका ससाना साधारण होटल पनि कोरोनाको असरले ठूलो मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्