नयाँ गीतसहित गायक रुपकुमार दर्शकमाझ [भिडियो]



काठमाडौं पुस २४ । सुगम संगीतका चर्चित गायक रुपकुमार राईको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक राईको अफिसियल युट्युव च्यानल रुपकुमार राईबाट बिहीबार ‘म बाँच्नुको के अर्थ तिमी नहुँदा ’ सार्वजनिक भएको हो । एउटा प्रेमीले प्रेमिकाको सम्झना र समर्पण भाव यस गीत रहेको छ ।

सेसुका राई र दिक्पाल कार्की फिचर्ड गरिएको यो गीत ‘ठूली’ चन्द्रकला राईले लेखेकी हुन् । गीतको भावलाई म्यूजिक भिडियोमा निक्कै मिहिन ढंगले उतारिएको छ । यस भिडियोका निर्देशन वीरबहादुर राई युवराजले गरेका हुन् । यसको छायाङ्कन दीर्घ गुरुङले गरेका छन् । राजु कार्कीले एरेन्ज गरेको यो गीत किङ स्टुडियोमा रेकर्ड भएको हो ।

गायक राईका मौलिक लोकगीत ‘रामसाइँली’, आधुनिक गीत ‘पठाइदिनु है आमा गुन्द्रुक किनामा’जस्ता दर्जनौं गीतहरु सार्वजनिक भइसकेका छन् ।

गीत, संगीतको उर्वरभूमि खोटाङमा जन्मिएका हुन्, रुपकुमार । गाउँकै स्कुलबाट एसएलसी सकाएर २०५५ सालमा काठमाडौं आएर शास्त्रीय गायन सिके । गुरुदेव कामतसँग डोरिमी संगीत पाठशालामा उनले संगीत प्रशिक्षण लिएका हुन् । सिक्दै गरेका रुपकुमारले ०५७ सालमै रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ । उनले अधिराज्यव्यापी आधुनिक गायनमा टपटेनमा परेर स्वर परीक्षाको प्रमाण पत्र लिएका हुन् । त्यतिबेला रेडियो नेपालले गर्ने प्रतियोगितामा टपटेनमा परेकालाई स्वर परीक्षाको मान्यता दिन्थ्यो ।

५७ तिरै रेडियो नेपालमा ‘यादै मीठो भन्छन् सबैले । सम्झनामा बाँचिदिँदा, नझार्नु है आँसु मोरी केही दिनलाई टाढा हुँदा ।’ पहिलो गीत रेकर्ड गरे । त्यसपछि मनको देउराली, आधुनिक एल्बम साक्षी, त्यसपछि रामसाइँली लगायत चर्चित–चर्चित गीत निकाले ।

आधुनिक गायकका रुपमा स्थापित स्रष्टा रुपकुमार लोकगीत र गजल गायनमा पनि उत्रिकै सिपालु छन् । उनको स्वर र आमाको संकलनमा बजार पिटेको रामसाइँली एल्बम एक उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्