वर्षकै सबैभन्दा लामो दिन आज



काठमाडौँ, असार ७ — आज जुन २१ अर्थात् वर्षको सबैभन्दा लामो दिन परेको छ। यस दिन सूर्य आकाशमा अन्य दिनको तुलनामा बढी समय रहने भएकाले दिन लामो र रात छोटो हुने गर्दछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आज बिहान ५ बजेर ०९ मिनेटमा सूर्योदय भएको छ भने साँझ ७ बजेर ०३ मिनेटमा सूर्यास्त हुनेछ। यसरी आज दिनको अवधि वर्षभरकै सबैभन्दा लामो रहनेछ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एकपटक सूर्यबाट सबैभन्दा टाढा पुग्ने अवस्थालाई ‘सूर्यदुरुस्थ’ भनिन्छ। पृथ्वी र सूर्यबीचको औसत दूरी करिब १५ करोड किलोमिटर रहे पनि आज यो दूरी करिब १५ करोड २० लाख किलोमिटर पुग्ने बताइएको छ।

वैज्ञानिकहरूका अनुसार सूर्यबाट टाढा हुँदा पृथ्वीको कक्षीय गति केही कम हुने भएकाले दिन लामो हुने प्रभाव देखिन्छ। त्यसैगरी सूर्य नजिक हुँदा पृथ्वीको गति बढ्ने र दिन छोटो हुने अवस्था सिर्जना हुन्छ।

विश्वभर आजको दिन विश्व संगीत दिवस तथा अन्तर्राष्ट्रिय योग दिवस समेत विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यता वर्षकै सबैभन्दा छोटो दिन भने डिसेम्बर २१ (पुस ६ वा ७) लाई मानिन्छ।

प्रतिक्रिया दिनुहोस्