घरमै सुतेका व्यक्तिको धारिलो हतियार प्रहारबाट हत्या
सर्लाही,असार ७ । सर्लाहीको बसबरिया गाउँपालिका–२ मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।स्थानीय ५० वर्षीय होसनारायण यादवको शनिबार राति घरभित्र सुतेकै अवस्थामा हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार दुई जना अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरेर फरार भएका थिए।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमका अनुसार घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको अनुसन्धानका लागि सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेल, बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीसहितको टोली परिचालन गरिएको छ।
अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले तालिम प्राप्त कुकुरसमेत प्रयोग गरी घटनास्थल र आसपासका क्षेत्रमा खोजी तथा प्रमाण सङ्कलनको काम गरिरहेको जनाएको छ। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि बरहथवा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि आइतबार बिहान प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तथा हत्या हुनुको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

