बसपार्क निर्माण अभियानमा पोखरा महानगरको डोजर, बास्तोला कम्प्लेक्सका ३२० सटर हटाइयो
पोखरा, असार ७ — पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण गरिएको बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना शनिबार डोजर प्रयोग गरी हटाएको छ।
पोखरा बसपार्क निर्माणलाई तीव्रता दिने अभियानअन्तर्गत महानगरले सेती नदी किनारमा रहेको उक्त कम्प्लेक्स हटाएको हो। हानगरपालिका र जग्गाधनीबीच संरचना हटाउने सहमति भएपछि त्यहाँ सञ्चालनमा रहेका व्यवसायीहरूले सटर खाली गरेका थिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जग्गाधनी तथा व्यवसायीहरूसँग निरन्तर संवाद र छलफलपछि संरचना खाली गर्ने सहमति जुटेको बताउनुभयो। उहाँका अनुसार बसपार्क निर्माणमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो।
“हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ, सोहीअनुसार खाली गरिएको हो। सुकुम्बासी बस्ती भने व्यवस्थापन नगरी हटाउने छैनौँ,” प्रमुख आचार्यले बताउनुभयो।
महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्वार क्षेत्रका केही सटरमा पनि डोजर चलाएको थियो। हाल हटाइएको बास्तोला कम्प्लेक्स रहेको जग्गा व्यक्तिको नाममा दर्ता भएको भेटिएको छ। विसं २०३० मा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको उक्त क्षेत्रभित्र पछि पोखरा उपत्यका नगर विकास समितिले सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो।
यस विषयमा छानबिन गर्न महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। समितिको प्रतिवेदन आउन बाँकी रहे पनि जग्गा सट्टाभर्ना तथा लालपुर्जासम्बन्धी विषयको अनुसन्धान द्रुतगतिमा भइरहेको प्रमुख आचार्यले जानकारी दिनुभयो।
यता, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क क्षेत्रको सम्पूर्ण जग्गा क्रमशः खाली गरिने बताउनुभयो। उहाँका अनुसार बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका वास्तविक सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ।
महानगरका अनुसार सुकुम्बासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफिकेसन) सम्पन्न भइसकेको छ। बाँकी परिवारको विवरण संकलन र प्रमाणीकरणको काम पनि छिट्टै सम्पन्न गरिने जनाइएको छ।
प्रमुख आचार्यले केही व्यक्तिले अपूर्ण तथा गलत विवरण पेस गरेको पाइएको भन्दै वास्तविक सुकुम्बासी पहिचान गर्न समय लागेको बताउनुभयो। महानगरले व्यवस्थापनको प्रक्रिया पूरा गरेपछि मात्रै सुकुम्बासी बस्ती क्षेत्रमा थप संरचना हटाउने जनाएको छ।

