रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि ४,२११ प्रतिनिधि चयन
काठमाडौं,असार ७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ जना प्रतिनिधि निर्धारण गरेको छ। प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत चयन गरिएको पार्टीले जनाएको छ।
पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि चयन भएका छन्। त्यस्तै, पार्टी सभापतिबाट विधानअनुसार १३८ जना मनोनयन गरिएका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई पनि प्रतिनिधिका रूपमा समेटिएको छ।
प्रदेशगत रूपमा कोशीबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ तथा सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ। साथै प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग तथा सल्लाहकार परिषद्का पदाधिकारीहरू पनि प्रतिनिधि रहनेछन्।
यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रका ३८ विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट पनि ११–११ जना प्रतिनिधिको सहभागिता रहने व्यवस्था गरिएको छ।
स्थानीय तहका आधारमा प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन गरिएको छ। प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि रहनेछन्।
रास्वपाले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट पराजित उम्मेदवार, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय व्यक्तिहरूलाई समेत महाधिवेशन प्रतिनिधिमा समावेश गरेको जनाएको छ। केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि बनेका छन्।

