स्पेनको शानदार जित, साउदी अरेबियामाथि ४–० को सहज विजय
एजेन्सी,असार ८ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
स्पेनका युवा खेलाडी लामिन यामालले विश्वकपमा पहिलो पटक सुरुआती टोलीमा स्थान पाउँदै खेलको १०औँ मिनेटमै गोल गरेर टोलीलाई अग्रता दिलाए। १८ वर्षीय यामालले मिकेल ओयार्जाबालले दिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जाली चुमाएका थिए।
यस गोलसँगै यामाल विश्वकप इतिहासमा १८ वर्ष वा सोभन्दा कम उमेरमा गोल गर्ने खेलाडीमध्ये सन् १९५८ मा ब्राजिलका महान् खेलाडी पेलेपछि दोस्रो खेलाडी बनेका छन्।
स्पेनले त्यसपछि पनि दबाब कायम राख्यो। २१औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै अग्रता दोब्बर बनाए भने तीन मिनेटपछि व्यक्तिगत दोस्रो गोल थप्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्याए। पहिलो हाफमै उनी तीन गोल पूरा गर्ने अवसरको नजिक पुगे पनि उनको प्रहार माथिल्लो डन्डीमा लागेको थियो।
दोस्रो हाफमा पनि स्पेनको आक्रमण जारी रह्यो। ४८औँ मिनेटमा गरिएको प्रहार साउदी गोलरक्षकले रोके पनि फर्किएको बल साउदी अरेबियाका एक रक्षकलाई लागेर आफ्नै पोस्टमा गोल हुन पुग्यो। त्यससँगै स्पेन ४–० ले अघि बढ्यो।
खेलको बाँकी समयमा साउदी अरेबियाले प्रभावशाली चुनौती दिन सकेन। अन्तिम १० मिनेटमा उसले पहिलो पटक गोलतर्फ प्रहार गरेको थियो। यता, स्पेनका वैकल्पिक खेलाडीले गरेको एक गोल भने नियमविपरीत अवस्थाका कारण मान्यता पाउन सकेन।
यो जितसँगै स्पेनले विश्वकपमा पहिलो विजय हासिल गरेको छ भने साउदी अरेबियाले प्रतियोगितामा पहिलो हार बेहोरेको छ।

