मेस्सीको दुई गोलमा अर्जेन्टिना नकआउट चरणमा
एजेन्सी,असार ९ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
डलासमा भएको खेलमा मेस्सीले ३८औँ मिनेट र इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो जित दिलाए। खेलको सुरुमै पेनाल्टी अवसर गुमाएका उनले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।
यससँगै मेस्सीले विश्वकपमा आफ्नो गोल संख्या १८ पुर्याएका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोड्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्।
अर्जेन्टिनाको पहिलो गोलमा थियोगो अल्माडाले बल चतुरतापूर्वक छोडेपछि फाकुन्डो मेडिनाको पासमा मेस्सीले सहज गोल गरेका थिए। त्यसपछि इन्जुरी समयमा अर्को गोल थप्दै उनले टोलीको जित सुनिश्चित गरे।
अल्जेरियाविरुद्धको पहिलो खेलमा तीन गोल गरेका मेस्सी दुई खेलबाट पाँच गोलसहित प्रतियोगिताका शीर्ष गोलकर्ता बनेका छन्। अस्ट्रियाले केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनाको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन। मार्सेल साबिट्जरको फ्रिकिकलाई गोलरक्षक इमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरेका थिए।
यो जितसँगै अर्जेन्टिना दुई खेलबाट ६ अंक जोडेर समूह ‘जे’ बाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। मेस्सी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि फ्रान्सका जस्ट फन्टेन र ब्राजिलका जाइर्जिन्होले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।
खेलपछि मेस्सीले जितप्रति खुसी व्यक्त गर्दै विश्वकपका हरेक खेल प्रतिस्पर्धात्मक हुने र दुई खेलबाट ६ अंक जोडेर नकआउट चरणमा पुग्न सफल भएकोमा सन्तुष्टि व्यक्त गरे। अर्जेन्टिनी रक्षक लिसान्द्रो मार्टिनेजले मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक भन्दै उनको प्रदर्शन अर्जेन्टिनाका लागि गर्वको विषय भएको बताए।

