एमबाप्पेको गोलमा फ्रान्स अगाडि, वर्षा र चट्याङका कारण खेल स्थगित
एजेन्सी,असार ९ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ मा फ्रान्स र इराकबीचको खेल पहिलो हाफ सकिएलगत्तै स्थगित भएको छ।
फिलाडेल्फियास्थित लिङ्कन फाइनान्सियल फिल्डमा जारी खेलमा भारी वर्षा र चट्याङ पर्ने जोखिम बढेपछि दोस्रो हाफ सुरु हुन ढिलाइ भएको हो।
पहिलो हाफको खेल सकिँदा फ्रान्सले इराकविरुद्ध १–० को अग्रता बनाएको छ। फ्रान्सका स्टार फरवार्ड किलियान एमबाप्पेले १४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। यो उनको विश्वकप करिअरको १५औँ गोल हो।
इराकलाई भने २५औँ मिनेटमा झट्का लागेको थियो। टोलीका प्रमुख स्ट्राइकर ऐमेन हुसेन घाइते भएपछि मैदान छाड्न बाध्य भएका थिए। उनको स्थानमा अली अल–हमादी मैदान प्रवेश गरेका छन्।
फिफाले जारी गरेको विज्ञप्तिअनुसार रंगशाला आसपासको क्षेत्रमा खराब मौसम र चट्याङको जोखिम कायम रहेकाले सुरक्षा प्रोटोकलअनुसार खेल केही समयका लागि रोकिएको हो।
मौसममा सुधार आएपछि खेल पुनः सञ्चालन गरिने फिफाले जनाएको छ।

