घानाले इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्यो



एजेन्सी,असार १० । फिफा विश्वकपअन्तर्गत समूह एलको खेलमा घानाले पूर्व च्याम्पियन इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै महत्वपूर्ण अंक बटुलेको छ।

बोस्टनमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँडेका हुन्। यस नतिजासँगै इंग्ल्यान्ड र घाना समूहको शीर्ष दुई स्थानमा कायम रहँदै नकआउट चरण (राउन्ड अफ ३२) नजिक पुगेका छन्।

अब समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामा र घानाले क्रोएसियाको सामना गर्नेछन्। दुवै टोलीलाई अर्को चरणमा स्थान सुरक्षित गर्न बराबरी नतिजा पर्याप्त हुने अवस्था बनेको छ।

खेलको पहिलो हाफमा इंग्ल्यान्डले लगातार दबाब बनाए पनि घानाको सुदृढ रक्षापंक्तिले सबै प्रयास विफल पारिदियो। पहिलो हाफमा डेक्लान राइसको हेडर क्रसबारभन्दा थोरैले माथिबाट बाहिरिनु नै इंग्ल्यान्डको उल्लेखनीय अवसर बन्यो।

दोस्रो हाफमा इलियट एन्डरसन, एन्थोनी गोर्डन र कप्तान ह्यारी केनका प्रहारहरूलाई घानाका गोलरक्षक बेन्जामिन आसारेले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखे।

खेलको ८०औँ मिनेटमा घानाले अग्रता लिने सुनौलो अवसर पाएको थियो। अब्दुल फतावुको प्रहार गोललाइन नजिकै सहकर्मी एन्टोइन सेमेन्योसँग ठोक्किएपछि घाना गोल गर्नबाट वञ्चित भयो।

इंग्ल्यान्डले पनि खेलको अन्त्यतिर गोल गर्ने अवसर गुमायो। ८७औँ मिनेटमा रिस जेम्सको क्रसमा निको ओरेलीको हेडर क्रसबारमा लागेर फर्किएको थियो। त्यसपछि प्राप्त रिबाउन्ड बलमा ह्यारी केनले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएपछि खेल गोलरहित बराबरीमा समाप्त भयो।

प्रतिक्रिया दिनुहोस्