मोड्रिचको २००औँ खेलमा क्रोएसियाको महत्वपूर्ण जित, पानामा विश्वकपबाट बाहिरियो



एजेन्सी,असार १० । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ। लगातार दोस्रो हार बेहोरेसँगै पानामा भने समूह चरणबाटै बाहिरिएको छ।

टोरन्टोमा बुधबार सम्पन्न खेलमा क्रोएसियाको जितका लागि आन्ते बुडिमिरले निर्णायक गोल गरे। उनले खेलको ५४औँ मिनेटमा जोसिप स्टानिसिचको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफमा क्रोएसियाले खेलमा सुधार गर्दै अग्रता बनाएको थियो।

यो खेल क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि विशेष रह्यो। ४० वर्षीय मोड्रिचले राष्ट्रिय टोलीबाट आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। उनको ऐतिहासिक उपलब्धिलाई टोलीले जितमार्फत थप स्मरणीय बनाएको छ।

खेलको अन्त्यतिर पानामाले बराबरी गोलको प्रयास गरे पनि क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।

जितसँगै क्रोएसियाले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। अब अन्तिम खेलमा घानालाई पराजित गर्न सके उसले अर्को चरणमा स्थान सुरक्षित गर्नेछ। समूहमा समान ४ अंक भएका इंग्ल्यान्ड शीर्ष तथा घाना दोस्रो स्थानमा छन् भने क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्