आइभोरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा



एजेन्सी,असार १२ । आइभोरी कोस्ट पहिलो पटक फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ अन्तर्गत फिलाडेल्फिया स्टेडियममा आज भएको खेलमा कुरासाओलाई २–० ले पराजित गर्दै आइभोरी कोस्टले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

आइभोरी कोस्टको जितमा निकोलस पेपेले दुवै गोल गरे। खेलको सातौँ मिनेटमै यान डियोमान्डेको पासमा पेपेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो आइभोरी कोस्टको विश्वकप इतिहासकै सबैभन्दा छिटो गोलसमेत बनेको छ।

पहिलो हाफमा खेलमाथि नियन्त्रण कायम राखेको आइभोरी कोस्टविरुद्ध कुरासाओले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफको ६४औँ मिनेटमा इब्राहिम साङ्गारेसँगको उत्कृष्ट पास आदानप्रदानपछि पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

यो नतिजासँगै पहिलो पटक विश्वकप खेलेको कुरासाओको यात्रा समूह चरणमै समाप्त भएको छ। कुरासाओले प्रतियोगितामा १ अंक जोड्दै विदा लिएको हो।

जितसँगै आइभोरी कोस्ट समूह ‘ई’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। अब उसले जुन ३० मा डलासमा समूह ‘आई’ को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। समूहको अर्को खेलमा जर्मनी इक्वेडरसँग २–१ ले पराजित भए पनि समूह विजेता बनेको छ भने इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रह्यो।

प्लेयर अफ दि म्याच बनेका निकोलस पेपेले टोलीको उत्कृष्ट सहकार्यका कारण दुई गोल सम्भव भएको बताउँदै नकआउट चरणमा पुग्नु देशका लागि गर्वको विषय भएको प्रतिक्रिया दिए। मुख्य प्रशिक्षक एमेर्स फाएले पनि टोलीको उपलब्धिप्रति गर्व व्यक्त गर्दै अबको लक्ष्य अझ अगाडि बढ्नु रहेको बताए।

प्रतिक्रिया दिनुहोस्