असार १५: हिलो, दही–चिउरा र धान रोपाइँसँग जोडिएको नेपाली संस्कृति



काठमाडौं,असार १५ । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। ‘मानो रोपेर मुरी उब्जाउने’ दिनका रूपमा चिनिने असार १५ कृषि उत्पादनसँग मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र जीवनशैलीसँग पनि गहिरोसँग जोडिएको पर्व हो।

धान रोपाइँको चटारोबीच किसानले खेतमै दही–चिउरा खाएर श्रमको थकान मेट्ने परम्परा रहिआएको छ। दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जा सञ्चय गर्ने जनविश्वास छ। यही कारण खेतीपातीमा संलग्न किसान मात्र होइन, अन्य पेसा–व्यवसायमा रहेका नेपालीले पनि आज दही–चिउरा खाएर पर्व मनाउने गर्छन्।

नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, विदेश जाँदा वा नयाँ कामको सुरुआत गर्दा सगुनका रूपमा दही खुवाउने र दही–अक्षता लगाउने चलन आज पनि जीवित छ। दही खाएर यात्रा गर्दा साइत पर्ने विश्वास पनि समाजमा प्रचलित छ।

स्वास्थ्यका दृष्टिले पनि दहीलाई लाभदायक मानिन्छ। यसले पाचन शक्ति बढाउने, शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउने तथा पखालाजस्ता समस्यामा समेत उपयोगी हुने विश्वास छ। आयुर्वेदमा भोजनपछि मोही पिउनुलाई स्वास्थ्यका लागि हितकर मानिएको उल्लेख पाइन्छ।

नेपालमा राष्ट्रिय धान दिवस विसं २०६२ सालदेखि मनाउन थालिएको हो। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रत्येक वर्ष असार १५ गते यो दिवस मनाउने परम्परा सुरु भएको हो।कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यस दिनको विशेष महत्त्व छ।

धान रोपाइँका क्रममा किसानहरू असारे भाका गाउँदै हिलोमा रमाउँछन्। “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…” जस्ता लोकगीतले खेतबारी गुञ्जायमान हुन्छन्। हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने परम्पराले असार १५ लाई कृषि र संस्कृतिको सुन्दर संगमका रूपमा स्थापित गरेको छ।

यद्यपि, यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै स्थानमा पर्याप्त वर्षा नभएकाले अपेक्षित रूपमा धान रोपाइँ हुन सकेको छैन। कतिपय किसानले रासायनिक मलको अभाव भएको गुनासो गरिरहेका छन्। यद्यपि कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने आवश्यक परिमाणमा रासायनिक मल मौज्दात रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्