जितपछि मेस्सीको भावुकता
एजेन्सी, असार २४ । अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेपछि कप्तान लियोनेल मेस्सी भावुक बनेका छन्। खेल सकिएलगत्तै मैदानको बीचमा आँसु झार्दै टोलीका साथीहरूको काँधमा टाउको राखेका मेस्सीको दृश्य विश्वकपको स्मरणीय क्षण बनेको छ।
खेलको ७०औँ मिनेटसम्म अर्जेन्टिना २–० ले पछि परेको थियो। पहिलो हाफमा यासेर इब्राहिम र दोस्रो हाफमा मोस्तफा जिजोको गोलमा इजिप्टले बलियो अग्रता बनाएको थियो। इजिप्टका गोलकिपर मोस्तफा शोबेइरले पहिलो हाफमा मेस्सीको पेनाल्टी समेत बचाएका थिए।
तर अन्तिम १४ मिनेटमा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्यो। ७९औँ मिनेटमा मेस्सीको उत्कृष्ट क्रसमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काए। त्यसको केही मिनेटपछि मेस्सीले शक्तिशाली प्रहारमार्फत बराबरी गोल गरे।
इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए। ३९ वर्षीय मेस्सीले यस विश्वकपमा दोस्रो पटक पेनाल्टी गुमाए पनि निर्णायक प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। यससँगै उनी विश्वकप इतिहासमा लगातार ६ नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। जारी प्रतियोगितामा उनको गोल संख्या आठ पुगेको छ भने पछिल्ला नौ विश्वकप खेलमा उनले १३ गोल र तीन असिस्टसहित १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्।
जितपछि अर्जेन्टिनाका समर्थकले लामो समयसम्म गीत गाउँदै उत्सव मनाएका थिए भने टोलीका खेलाडीहरूले मेस्सीलाई काँधमा उठाएर ऐतिहासिक जितको खुसी साटेका थिए। दुई गोलले पछि परेको अवस्थाबाट नियमित समयमा जित निकाल्ने यो विश्वकप इतिहासकै सबैभन्दा ढिलो सफल पुनरागमन मानिएको छ।

