कोरोनाले इटालीमा भयावह रुप लियो,एक दिनमै ६२७ को ज्यान गयो



एजेन्सी,चैत-८।कोरोना भाइरसले इटालीमा भयावह रुप लिएको छ।कोरोनाको उद्गम मुलुक चीनमा भन्दा ईटालीमा कोरोनाको प्रभाव तिब्र गतिमा अगाडी बढेको छ ।यस भाइरसले शुक्रबार मात्रै ईटलीमा ६ सय २७ जनाको ज्यान लिएको छ । एकै दिन धेरैको मृत्यु भएको यो अहिलेसम्मकै ठूलो आँकडा छ । ईटलीमा अहिलेसम्म ४ हजार ३२ को मृत्यु भएको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन । 

यहाँको लोम्बार्डी क्षेत्रको उत्तरी क्षेत्र कोरोना भाईरसद्वारा अत्यधिक प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्रै २ हजार ५ सय ४९ जनाको मृत्यु भैसकेको छ । ईटालीमा अहिले पार्कमा घुम्ने, ब्यायाम गर्ने, मोटरसाईकल र साईकल चलाउनेलगायतका थुप्रै प्रतिबन्धहरु लगाईएका छन । ईटालीमा मुत्यु हुनेहरुको औसत आयु ७९ दशमलव ५ रहेको छ ।

स्थानीय सञ्चार माध्यमसंग कुरा गर्दै त्यहाँका सिभिल प्रोटेक्सन प्रमुख एंजेलो बेरेलीले भने- ‘आगामी एक सातासम्म मृत्यु हुनेहरुको गति घट्ने अवस्था देखिंदैन ।’ कोरोनका कारण ईटालीमा हालसम्म १३ जना डाक्टरहरुको मृत्यु भएको छ भने २ हजार ६ सय २९ जना डाक्टर संक्रमित भएका छन ।

प्रतिक्रिया दिनुहोस्