कोरोना भाइरस संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै



एजेन्सी,चैत-१५।कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै पुगेको छ। चीन,इटाली,स्पेनजस्ता बढी संक्रमित देशलाई उछिन्दै अमेरिका सबैभन्दा बढी संक्रमित देशको अग्रस्थानमा पुगेको हो।शनिबारसम्ममा अमेरिकामा एक लाख ४ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएका छन् भने  १७ सयभन्दा बढीको त मृत्यु नै भैसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन।

यतिबेला भाइरसको संक्रमणले तीव्रता लिएसगै   ट्रम्प सरकार र प्रशासनले लिएको  नीतिको समेत चर्को आलोचना भइरहेको बताइएको छ।अहिले  विश्वभर ज्यान गुमाउनेको संख्या साँढे २७ हजार काटेको छ भने संक्रमितको संख्या ६ लाख नाघेको  छ ।भाइरसको गति बुलेट ट्रेन बराबर फैलन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कार निर्माता कम्पनी जनरल मोटसलाई भेन्टिलेटर बनाउन आदेश दिएका छन् । उनले कोरियाली युद्धको समयको डिफेन्स प्रोटेक्शन एक्टसमेत लगाएका छन् ।

ट्रम्पले जनरल मोटरले समय बर्बाद गरिरहेको र अमेरिकी नागरिकको ज्यान बचाउन तत्काल काम गर्नुपरेको पनि बताएका छन् । जनरल मोटरले भने अप्रिलदेखि प्रत्येक महिना १० हजार भेन्टिलेटर बनाउन सक्ने बताएको छ । शुरुमा चिनियाँ भाइरस भन्दै गिजाइरहेका ट्रम्पले भाइरसले गाँज्दै लगेपछि चिनियाँ समकक्षी सी चिनफिङसँग पनि वार्ता गर्दै कोरोना नियन्त्रणमा गरेको कामको सम्मान गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्